Banner News

सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र : राष्ट्रपति पौडेल



ललितपुर, ३० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् ।

ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनःनिर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए । उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

“काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुनःनिर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ”, राष्ट्रपति पौडेलले भने।