राजनीति

नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय हुँदैन : अध्यक्ष ओली



काठमाडौँ, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय नभएको बताएका छन् ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै एमाले अध्यक्ष ओलीले देशभित्रकै शक्तिले मिलेर गरेको कामलाई बाह्य शक्तिले गरेको भन्नु उचित नहुने बताए । उनले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री प्रचण्ड र आफूले गरेको जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘हामीले सँगै मिलेर धेरै राम्रा काम गरेका छौँ । राम्रा गरे जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेसले । अरूलाई एक छेउ जस दिन्छ ? यसपटक पनि नेपाली कांग्रेस मात्रै होइन, अरूअरू छरछिमेकका मित्र पनि यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि । सरकार परिवर्तन यताउता, खत्र्याखुत्रुक, हाम्रो देशभित्रका सानातीना काम त हामीले गरेको भन्दा हुन्छ । को देश आयो, कुन आयो, कसले गर्यो भनेर कहाँ अरूलाई जस दिएको ? ‘परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो । दुई भाइलाई जस दिए पनि हुन्छ नि । मैले १६ पुसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन गठबन्धनमा रमाएर मस्तले इन्जोय गरिरहेको कांग्रेसको तलाउमा फ्याट्ट ढुंगा फ्याकेर किन तरंग ल्याउने त्यतापट्टी छैन भनेको थिएँ । मैले तरंग ल्याउन चाहिनँ । तर बुझ्न त कांग्रेसले बुझेको थियो होला ।’