समाचार

युरिक एसिड हुँदा  के खाने ? के नखाने ?



काठमाडौँ, ३ चैत । खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ । युरिक एसिडको मात्रा अत्याधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको स-साना जोर्नीमा असर गर्छ । बेलैमा रोग पत्ता लाएर उपचार नगरे शरीरमा बडेको युरिक एसिड जोर्नी बाहेक मृगौला र शरीरका अन्य भागमा जमेर बसिदिन्छ र अरु समस्याहरु देखापर्ने गर्छन् । 

यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ ।  जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा  हामीले खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।

अस्वस्थ्यकर खाना खाने, अत्याधिक मोटोपन भएका ब्यक्तिहरु, धेरै जाडरक्सिको सेवन गर्ने ब्यक्तिहरु, शारीरिक अभ्यास नगर्नेहरु, धेरै व्रत बस्नेहरु, चिनी रोगका बिरामीहरु, रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी र मृगौलाको औषधी सेवन गरिरहेकाहरुमा यो रोगको जोखिम उच्च रहेको पाइएको छ ।  विशेषगरी वयस्क महिलाहरुको दाजोमा पुरुषमा यो रोग १० गुणाबढी हुनेगरेको पाइएको छ र महिनावारी बन्द भैसकेका महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ। 

 के नखाने : 
– रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जसमा युरिक एसिड अत्यधिक मात्रामा हुन्छ 
– गेडाँगुडीँ, च्याउँ, काउँली, ब्रोकाउँली, कुरिलो, पालुंगोको तरकारी  
– मिठाई, सफ्ट ड्रिंक्स, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरू
– रक्सीजन्य पदार्थहरू

 के खाने :
– गोलभेँडा, लसुन, प्याज, अमिला चिजहरू जस्तै: कागती, सुन्तला, दही 
– स्याउ, केरा, कफि, ग्रीन टी 
– अन्डा – जो प्रोटिनयुक्त खानेकुरा भएपनि युरिक एसिड बढाउँदैन
– प्रशस्त पानी पिउने र नियमित व्यायामगरी शरीरको मोटोपन घटाउने

हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ । जब युरिक एसिडको मात्रा ७ भन्दाबढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ ।