समाचार

ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु



चितवन, ४ चैत ‍। चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका-२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।