राजनीति

मुख्यमन्त्री शाहलाई समर्थन कायम राख्ने नाउपाको निर्णय



धनगढी, ४ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई आफ्नो साथ समर्थन कायमै राख्ने भएको छ ।

आइतबार बसेको नाउपा संसदीय दलको बैठकले कांग्रेसलाई सघाउने निर्णय गरेको हो । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले भने, ‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौँ । हामीले यहि सरकारलाई सघाउने निर्णय गरेका छौँ । प्रदेश पनि स्वायत्त हो । यसले नयाँ सन्देश पनि जान्छ ।’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।  सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना चाहिन्छ । ५३ सदस्यीय प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।