अर्थ

करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले अनिवार्य : अर्थमन्त्री पुन



काठमाडौँ, ५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने  बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्य समितिसँगको भेटमा मन्त्री पुनले बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्त्वपूर्ण  दरहरू परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । अहिले आर्थिक मन्दी नभएर आर्थिक सुस्तता देखिएको मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले भने, ‘करको दर बढ्दा पनि किन बढ्यो घट्दा पनि किन घट्यो भन्ने विषयमा तीन महलेको नयाँ काम सुरु गर्दैछौं। केहि देशमा यो अभ्यास छ । ‘सबै क्षेत्र खराब भएको छैन, पूर्व अर्थमन्त्रीहरूले पनि धेरै मेहनत गर्नुभएको छ । सार्वजनिक वित्तमा केहि समस्या छन् । पुँजीगत खर्च बढाउन सकिएको छैन । राजस्व अपेक्षा अनुसार बढ्न सकेको छैन । अहिले जनताको तल्लो तहमा पैसा पुर्‍याउने सहकारी र लघुवित्त दुवै समस्यामा छन् । हामीले लघुवित्त पीडितलाई बोलाएर वार्ता गरिसकेका छौँ ।’