राजनीति

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना



काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिए अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु ) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ ।

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउनका लागि ९८५१३६०६०३ नम्बर तोकिएको छ । फोन नम्बर ०१-४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने छ । [email protected] मा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जनाएको छ ।