राजनीति

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।

उनले भने, ‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’

तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए । ‘जसरी पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ,’ उनले भने, ‘तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ ।’