समाचार

काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा वर्षा



काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौँसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

उपत्यकामा भोलि पनि केही वर्षाको सम्भावना छ । शुक्रबारबाट भने मौसम खुल्दै जानेछ । वाग्मतीसहित कोसी र मधेस प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो ।