अर्थ

साढे २ अर्बको सिमेन्ट र क्लिंकर निर्यात



काठमाडौँ, ९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकबाट २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म कुल २२ लाख ९६ हजार ९७३ टन सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

साउनदेखि फागुनमा १ अर्ब १८ करोड ८७ लाख २८ हजार रुपैयाँ बराबरको ३ लाख ९२ हजार ७ सय ४५ टन क्लिंकर (सिमेन्टको कच्चा पदार्थ) निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार १ अर्ब २८ करोड ३० लाख १४ हजार रुपैयाँ बराबरको १९ लाख ४ हजार २२८ टन तयारी सिमेन्ट निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ११ करोड १४ लाख २६ हजार रुपैयाँ बराबरको सिमेन्ट र १९ करोड ४१ लाख रुपैयाँको क्लिंकर निर्यात भएको थियो ।

सरकारले निर्यात बढाउन करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको छ । सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार अनुदान दिने बताए पनि हालसम्म कुनै पनि उद्योगले पाएका छैनन् । ‘सरकारले गत वर्षदेखि सिमेन्ट निर्यात गर्नेलाई अनुदान दिने व्यवस्था गरे पनि हालसम्म कसैले पाएनन्,’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने, ‘५० करोडभन्दा बढी निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने भनेको छ । तर कसैको पनि नाघेको छैन । अलिअलि निर्यात गरेबापत पाइने ४ प्रतिशत अनुदान पनि पाएका छैनौं ।’

नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागको तथ्यांक छ । नेपालले यसअघि पनि ०६९/७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०६९/७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो । भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ ।

झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । ०७०/७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो । ०७१/७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ ।

पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजीलगायत ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । यद्यपि गुणस्तर चिह्न अनिवार्य हुँदा निर्यात गर्न भारतकै गुणस्तर चिह्न लिनुपर्छ । स्वदेशी सिमेन्ट ७/८ वटा उद्योगले गुणस्तर चिह्नका लागि आवेदन दिए पनि ३/४ वटाले मात्रै चिह्न पाएका छन् । भारतले गुणस्तर चिह्न दिन ढिलाइ गरिरहेकाले सरकारले यसबारे पहल गरिदिनुपर्ने संघका अध्यक्ष थापाले बताए । पहिला भारतबाटै कच्चापदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन नसकेका थिएनन् । एक दशकअघि नै सिमेन्ट निर्यात सुरु भए पनि त्यो ‘ट्रायल’ मात्रै रहेको संघका अध्यक्ष थापाले बताए । गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ४ अर्बसम्मको निर्यात हुने आँकलन उनको छ । उत्पादन लागत कम गर्न सरकारले सहुलियत दिएको खण्डमा योभन्दा धेरै निर्यात हुन सक्ने संघले जनाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७/७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । मुलुकमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ । अफ सिजनकै समयमा पनि गत वर्ष २० प्रतिशत क्षमतामा सञ्चालन भएको थियो । अहिले पिक सिजन भए पनि ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै उद्योग सञ्चालन भइरहेको संघका अध्यक्ष थापाले सुनाए ।

चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ । ‘यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिन (अलकत्रा) को आयात घट्ने विश्वास लिएको छु,’ निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यमा भनेका छन्  । सिमेन्ट उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले अघि सार्दै आएको छ । तर हालसम्म कार्यान्वयनमा नआएको संघका अध्यक्ष थापाले बताए । ‘ढलान सडक बनाउने भन्दै बजेटमा बोल्यो सक्यो, अब बजेटमा मात्र आएर केही नहुने भयो,’ उनले भने, ‘बजेटमा जसरी आउँछ त्यसरी जान्छ । बजेटमा आएका पनि कार्यान्वयन नहुने रहेछ ।’

सिमेन्ट निर्यात बढ्ने मात्रै होइन, आयातसमेत घटिरहेको छ । ०७८/७९ मा ६८ करोड ९३ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको थियो । ०७७/७८ मा भने ३ अर्ब ९८ करोड ६५ लाख ७ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा ४ अर्ब ८६ करोड ८९ लाख ६९ हजार रुपैयाा बराबरको सिमेन्ट र क्लिंकर आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ९९ करोड १६ लाख ६४ हजार सिमेन्ट र क्लिंकर आयात भएको विभागको तथ्यांक छ । यसको अर्थ नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भई निर्यातको ढोका खुला भएको छ ।

सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५/६ वर्ष भइसकेको संघले जनाएको छ । सन् २०१८/१९ मा १० करोड टन माग भएकामा गत वर्ष ८ करोड टन मात्रै थियो । यस वर्ष ८ करोड टन पनि नपुग्ने अवस्था रहेको संघले बताएको छ । कान्तिपुरबाट