अर्थ

अग्निपीडितलाई आर्थिक सहयोग



खोटाङ, १० चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु १० हजारका दरले राहत रकम प्रदान गरेको हो । 

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए। 

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार रु पाँच हजार र पूर्ण क्षति भएकालाई रु दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ । दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् ।