राजनीति

शिक्षामन्त्रीलाई नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण



काठमाडौँ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई नेपाल भरका सामुदायीक क्याम्पसहरुको सुधार तथा युवाहरुमा बढ्दो निराशालाई आशामा जगाउने गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास र विस्तारको लागि नेपाल पब्लिक क्याम्पस संघले ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपालमा देखिएको शिक्षा क्षेत्रका विकृति, घट्दो विद्यार्थी संख्या तथा शिक्षा क्षेत्रमा रहेका चुनौतीहरुलाई गहिरो ढंगले बुझ्नुपर्नेमा जोड दिइएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपालको शिक्षाक्षेत्रमा खासगरी उच्चशिक्षाका लागि बिदेशिने प्रवृत्ति, उच्चशिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा देखिएका विकृति, युवाहरूमा बढ्दो निराशा र शिक्षाक्षेत्रमा घट्दो विद्यार्थी सङ्ख्याका बिच बदलिँदो अतर्राष्ट्रिय परिवेशअनुरूप समग्र शिक्षाक्षेत्रको सुधार र त्यसका लागि रहेका चुनौतिलाई गहिरो गरी बुझ्नुभएको यहाँ जस्तो बौद्घिक व्यक्तित्व शिक्षामन्त्रीको जिम्मेवारीमा नियुक्त हुँदा सिङ्गो शिक्षा क्षेत्रमा एउटा सकारात्मक सन्देश र ऊर्जा सम्प्रेषण भएको छ । उच्चशिक्षा सुधारका लागि यहाँले देखाउनुभएको सपना, तत्परता, जागरुकता, दूरदृष्टि तथा समर्पणको हामी मुक्तकण्ठले प्रंशसा गर्दछौँ साथै यो कठिन यात्रामा यहाँलाई सम्पूर्ण रूपमा सफलताको कामना गर्दछौँ ।’

युवामा नेपाली शिक्षा तथा शैक्षिक संस्थाहरु प्रति देखिएको निराशा, बढ्दो बेथिती, बेरोजगारलगायतका शिक्षा क्षेत्रमा रहेका समस्याहरुमा संघ सरकारसँग सहकार्य गरी निरासालाई आशामा रुपान्तरण गर्न सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै चुनौतीलाई अवसरमा रुपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ । ‘नेपालको समग्र शिक्षा र शैक्षिक संस्थाहरूप्रति युवाहरूमा देखिएको निराशा, बढ्दो बेथिति, बेरोजगारी, अवसरको कमी, असमान पहुँच, गुणात्मकताको कमी, असान्दर्भिक बन्दै गएको पाठ्यक्रम, युवा तथा प्रतिभा पलायनको बढ्दो चाप, उच्च शैक्षिक संस्थाहरूमा बढ्दो राजनीतिक हस्तक्षेप तथा भागबन्डा, शिक्षामा घट्दो लगानी, शैक्षिक संस्थाहरूमा सुशासनको गिर्दाे अवस्था, शैक्षिक क्यालेन्डरको पालनामा भएको ढिलाइ तथा शिक्षाको क्षेत्रमा बढ्दो व्यापारीकरणका कारण सिर्जित चुनौतीका बिच यहाँले पाउनुभएको यो अमूल्य र चुनौतीपूर्ण जिम्मेवारीको सुझबुझपूर्ण ढङ्गले सफल नेतृत्व गरी नेपालमा शिक्षाको क्षेत्रमा अनुभूति हुने गरी सकारात्मक परिवर्तन हुने कुरामा हामी पूर्ण विश्वस्त छौँ’, ध्यानाकर्ष पत्रमा भनिएको छ, ‘तसर्थः माननीय मन्त्रीज्यूले हामीलाई उपलब्ध गराउनुभएको समयका लागि र हाम्रा समस्यालाई गम्भीरतापूर्वक सुनेर, मनन् गरेर तथा जायज कुरालाई आत्मसात गरेर उच्च शिक्षाको क्षेत्रमा सहकार्य हुने कुरामा हामी विश्वास व्यक्त गर्दछौँ ।’