Banner News

प्रमाणसहित उजुरी परे गृहमन्त्रीले राजीनामा दिनुपर्छ : उपमहासचिव ज्ञवाली



काठमाडौँ, ११ चैत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको बताए । उनले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’

अहिलेसम्म गृहमन्त्री लामिछानेविरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए । सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए । भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको भन्दै उनले मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दै गरेको बताए । यसक्रममा जो कोही दोषी देखियो भने एमालेले ढाकछोप नगर्ने उनले बताए ।