राजनीति

उपनिर्वाचनमा पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको छ : नेपाल



काठमाडौँ, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका छन् । 

आज काभ्रेको बनेपामा आयोजित पार्टीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए । 

उनले इलाममा उमेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उमेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्र्वाचनमा उमेदवार उठाउने जानकारी गराएको उनले बताए ।

त्यस्तै, अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपालका सबै कम्युनिष्टहरू एकताबद्ध हुनुपर्ने भए पनि त्यसका लागि परिस्थिति अनुकूल बन्नुपर्ने जिकिर गरे ।