राजनीति

निर्वाचन पद्धति परिवर्तन गर्नुपर्छ : सभामुख घिमिरे



काठमाडौँ, १५ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आज नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभामुख घिमिरेले अहिलेको प्रणालीले स्थायी सरकार दिन नसक्ने भएकाले परिवर्तन आवश्यक भएको बताएका हुन् ।

उनले भने, ‘एउटा दलको बहुमत आउने खालको सरल निर्वाचन प्रणाली आवश्यक छ,’ ‘हामीले निर्वाचन पद्धति फेर्नुपर्ने आवश्यकता देखेका छौं ।’

सभामुख घिमिरेले संघीय संसद्का दुवै सदन र सातै प्रदेशका सभामुख, उपसभामुख सहितको छलफलबाट सदनलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकाबारे गहन छलफल भएको जानकारी दिए । पाल्पामा दुई दिनसम्म चलेको अन्तरव्यवस्थापिका भेलाले मुख्यतः कानुन बन्नुपर्ने विषय, बनेको कानुनको कार्यान्वयन र कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको सभामुख घिमिरेले बताए ।