मनोरञ्जन

मिस नेपाल-२०२४ को आवेदन खुला



काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ ।

द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै यस वर्षको संस्करणको घोषणा गरेको हो । मापदण्ड पुगेका इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली नागरिक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । भाग लिन शुल्क नलाग्ने हिडन ट्रेजरले उल्लेख गरेको छ ।

यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई फराकिलो बनाउन पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन आयोजना हुने भएको छ । अन्तिम अडिसन मे १८ मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।