राजनीति

प्रदेश सरकारको बजेटले खुमबहादुरको सालिक



दाङ, १७ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार दलबलसहित लमही नगरपालिका–९ अमिलिया आइपुगे । पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा प्रदेश सरकारको खर्चमा बनाइएको खुमबहादुर खड्काको सालिक अनावरण गर्न काठमाडौंबाट दाङ हान्निएका थिए ।

कांग्रेसका दिवंगत नेता खड्का, जो गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा भ्रष्टाचारी ठहर भई सर्वोच्च अदालतको फैसलाबाट कैद सजाय र जरिवाना भुक्तान गरेका व्यक्ति थिए । यतिसम्म कि, भ्रष्टाचारी ठहर भएका व्यक्तिको सालिक बनाउन लुम्बिनी सरकारले १० लाख खर्चेको छ ।

२० लाख ४८ हजार रुपैयाँमा निर्माण गरिएको यो सालिकका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री अर्जुनकुमार श्रेष्ठले प्रदेश सरकारको ढुकुटीबाट १० लाख रुपैयाँ दिलाएका हुन् । यसका अलवा सालिक निर्माणमा पार्टीका अन्य नेता/कार्यकर्ताले पनि चन्दा दिएका थिए । भ्रष्टाचारी ठहर भएका खड्काको कांग्रेस सभापति देउवाले भने निकै प्रशंसा गरे । ‘खुमबहादुर खड्का देशकै होनहार र विकासवादी नेता हुनुहुन्थ्यो, उहाँको अभाव पार्टीमा खड्किरहनेछ,’ उनले भने, ‘उहाँले देखेका सपना पूरा गर्न हामीहरू निरन्तर लाग्नुपर्छ । उहाँ दाङको मात्रै होइन देशकै गौरव हुनुहुन्थ्यो ।’

लमही सतबरिया निवासी खड्का एक समय राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता मानिन्थे । कांग्रेस महामन्त्री र कैयन् पटक मन्त्री भएका खड्काको सालिक २०७६ चैत १९ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शिलान्यास गरेपछि निर्माण भए पनि लामो समयदेखि अनावरण हुन सकेको थिएन ।

भौतिक योजना तथा निर्माण लगायतका मन्त्रालयमा कार्यरत हुँदा २ करोड ३६ लाख रकम भ्रष्टाचार गरेको भन्दै खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०६३ कात्तिक २९ मा उनलाई सफाइ दिए पनि सर्वोच्च अदालतले २०६९ साउन ३० मा विशेषको फैसलालाई उल्टाउँदै डेढ वर्ष कैद फैसला सुनाएको थियो । न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायले उनलाई ९४ लाख ७४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जरिवाना र त्यति नै बिगो तिर्ने फैसला सुनाएका थिए । कैद सजाय भुक्तान र जरिवाना तिरेर जेल मुक्त भएपछि खड्का हिन्दु राज्य निर्माणको अभियानमा सक्रिय हुन खोजेका थिए । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा २०७४ चैत १६ मा निधन भएको थियो । कान्तिपुरबाट