Banner News

हर्क साम्पाङ र गृहमन्त्री लामिछानेबीच भेटवार्ता



काठमाडौँ, १८ चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियानमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए । साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख गुनासो गरेका थिए ।

जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । यस्तै साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । सो क्रममा लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने सङ्गठन बनाउने प्रतिबद्धता जनाएका थिए ।

गृहमन्त्री र प्रमुख साम्पाङबिच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ । सो क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए ।