राजनीति

कर्मचारीमाथि हातपातमा उत्रिए मधेशका पूर्वमन्त्री



राजविराज, १९ चैत । मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दलका नेता एवं प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका छन् । दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले बताए ।

प्रदेश सरकारको रेडबुकमा रहेको १०/१० लाख रुपैयाँको दुई वटा योजनाको चिठी लिन निवर्तमान मन्त्री यादवको निर्देशनमा राजविराज नगरपालिका–१३ का वडा सदस्य चन्द्रिका यादव आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय आएका थिए । कार्यालय प्रमुख अधिकारीले राजविराज–१३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको विषहरियामा एकनाथको घरदेखि महावीर स्कुलसम्म आरसीसी ढलानको दुवै योजना सञ्चालनका लागि कोटेसनको सूचना निकालिसकेको जवाफ वडा सदस्य यादवलाई दिएका थिए ।

निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरे । उनले प्रदेश सरकारको योजनाको चिठी दलालमार्फत बिक्रीवितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए । ‘काम गर्न नसक्ने भए तपाईं यहाँबाट जानुस् भन्दै हल्का ठेलेको मात्रै हो, हातपात गरेको होइन,’ यादवले भने । हातपातपछि कार्यालय प्रमुख अधिकारीले कार्यालयमा काम गर्ने सहज वातावरण नभएको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुर्व्यवहार भएको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए ।