राजनीति

राजीनामाको तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे



पोखरा, २० चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ राजीनामा दिन लागेका हुन् । मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पनि विपक्षीको सरकार बन्न नसक्ने हुँदा ठूलो दलको हैसियतमा १६८ (३) बमोजिम फेरि आफू नै मुख्यमन्त्री  बन्ने रणनीति पाण्डेले बनाएका छन् ।

संसदबाट विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखिएकाले राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिका साथ नै पाण्डेले गठबन्धनमा रहेका राजीव गुरुङ (दीपक मनाङेले) भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । किनकी दुई सदस्य रहेको राप्रपाले पनि २७ गतेको आन्दोलनअघि निर्णय नलिने बताउँदा एमाले–माओवादीको पनि स्पष्ट बहुमत पुग्दैन र फेरि ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने पाण्डेको योजना छ ।

अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिएको हो । २७ सांसदसहित गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै सत्ता संकट सजिलै टार्नसक्ने स्थितिमा छैन । मनाङका राजीव गुरुङ (दीपक मनाङे) स्वतन्त्र सांसद हून ।