समाचार

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?



काठमाडौँ, २२ चैत । ‘प्रि–मनसुन’ को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो । पछिल्लो दुई हप्तामा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ । यदि उचित आश्रय फेला नपरेको अवस्थामा वरपरको सबैभन्दा अग्लो वस्तुको नजिक जान हुँदैन । खुला मैदान, पहाडको टुप्पो, अग्ला रुख र बिजुली लाइन वा पोलहरूबाट सकेसम्म टाढा बस्नुपर्छ । कुनै पनि विकल्प नभएको अवस्थामा दुवै खुट्टा जोडी टाउको घुँडाको बीचमा राखेर भुइँमा झुक्नुपर्छ । खुट्टाको बलले जमिनसँगको सम्पर्क कम गर्नुपर्छ । भुइँमा सुत्न हुँदैन ।

घरभित्र भएको अवस्थामा बिजुलीका उपकरणहरू जस्तै– टीभी, टेलिफोन, माइक्रोवेभ ओभन, वासिङ मेशिन लगायतबाट टाढा बस्नुपर्छ । घरभित्र रहेको पानीको धारा, बिजुलीको तार र धातुको पाइपबाट पनि बिजुली प्रवाह हुन सक्ने भएकाले यी कुराहरूबाट पनि टाढा बस्नुपर्छ । यस्तै धातुको झ्याल ढोका तथा कहिलेकाहीँ घरको भित्ता र भुइँबाट पनि बिजुली प्रवाह हुने भएकाले धातु वा भुइँ छुनु हुँदैन । खाट, टेबुल, वा कुर्सीमाथि बस्नुपर्छ ।

चट्याङ परिरहेका बेला पार्क, ताल, पोखरी, खेल मैदान, खोला किनार, खेतबारी जोखिमपूर्ण क्षेत्र भएकाले ती ठाउँमा जान हुँदैन । चट्याङ परिरहेको बेला घरबाहिर निस्कनु हुँदैन ।