राजनीति

विदेशमा बसेका नेपालीहरूका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था शुभारम्भ



काठमाडौँ, २२ चैत । विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

कन्सुलर सेवा विभागले आज विभागस्थित कार्यालयमा एक कार्यक्रमबिच गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए  । उनले कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिने उल्लेख गरे । उनले फारम भरेपछि विभागले तत्काल नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । 

उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दूतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्न सक्ने गरी व्यवस्था गर्ने पनि बताए । उनले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्न सक्ने व्यवस्था गर्न लागेको बताए ।