अर्थ

आयात र निर्यात दुवै घट्यो



काठमाडौँ, २२ चैत । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

गएको आठ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २ सय ७८ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७ सय ६१ र १ लाख ९२ हजार ५ सय ५९ रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रु.१०३० अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई रु.९२९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.९८ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.८५ अर्ब १२ करोड बराबरको भएको थियो ।