राजनीति

काठमाडौं महानगरपालिकामा गरिब गणना सुरु



काठमाडौँ, २५ चैत । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ ।

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए । ‘त्यसपछि गरिब घरपरिवारको परिचयपत्र वितरण गरिन्छ र त्यो परिचयपत्रको आधारमा उनीहरुले सरकारबाट पाउने विभिन्न सेवा सुविधा पाउँछन्,’ प्रवक्ता भट्टले भने ।

गरिब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन । काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौं महानगरपालिकाले तालिमसमेत दिएको थियो ।