समाचार

आज घोडेजात्रा मनाइँदै



काठमाडौँ, २६ चैत । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ ।

चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने ÷ बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ । 

विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ । आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।