राजनीति

कांग्रेस र एमाले मिलेर देशलाई निकास दिऔँ : शेखर कोइराला



घोराही, २९ चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए । नेताहरूले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र सङ्कटमा परेको दुखेसो कोइरालाले पोखे । नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।

कोइरालाले भने, “मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ । राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।”