समाचार

आजको मौसम



काठमाडौँ, २ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि मुख्यतया बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । आज दिउँसो दिउँसो  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानका साथै बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती भने सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।