राजनीति

बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक : सभापति देउवा



काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

आज काठमाडौँमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोड दिए । विगतमा बन्दुक उठाएकाले पनि अहिले बहुदलीय व्यवस्था मानेको उनले उल्लेख गरे । उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको औँल्याए ।

उनले भने, “…अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ,” “धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भने पनि सुधार गरेर जाऔँ । तर, अब राजा फर्काउने असम्भव कुरा देख्छु मैले ।”

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका निम्ति स्व. थापाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।