अर्थ

विदेशी लगानी : २९ अर्ब प्रतिबद्धता, साढे ५ अर्ब भित्रियो



काठमाडौँ, ३ बैशाख । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता भए पनि ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ मात्रै भित्रिएको छ । विदेशी लगानीको प्रतिबद्धता र भित्रने रकमबीच ठूलो अन्तर रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको हो ।

उद्योग विभागका अनुसार गत चैतमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो रकमसहित चालु आर्थिक वर्षको ९ महिनामा कुल २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख विदेशी लगानी प्रतिबद्धता आएको हो । राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार भने ५ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ भित्रिएको छ । सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ भित्रिएको हो । यो महिनामा ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ  । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । ‘लगानी एकमुष्ट रूपमा स्वीकृत हुन्छ । तर विभिन्न चरणमा भित्रिन्छ,’ उनले भने, ‘परियोजनाका लागि अध्ययनका चरणमा पनि लगानी भित्रिने गरेको छ ।’

गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता हुँदा ५ अर्ब ९६ करोड १३ लाख मात्रै भित्रिएको थियो । आर्थिक वर्ष ०७८/०७९ मा ५४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ रकम आएको थियो । आर्थिक वर्ष ०७७/०७८ मा ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ प्रतिबद्धता हुँदा १९ अर्ब ५१ करोड २७ लाख रुपैयाँ भित्रिएको तथ्यांक छ ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म १५९ वटा नयाँ उद्योगमा २० अर्ब ५६ करोड रुपैयाँ प्रतिबद्धता आएकामा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष प्रत्यक्ष विदेशी लगानी भित्रिने क्रम बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन् । ‘अन्तर्राष्ट्रिय रूपमा एफडीआई अनुकूल भयो र स्वदेशमा पनि लगानीमैत्री वातावरण बन्यो भने एफडीआई भित्रिने रहेछ । यसको संकेत पनि देखियो ।’

तर, केही वर्षदेखि कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत पनि एफडीआई नभित्रिएको विज्ञहरू बताउँछन् । गत आर्थिक वर्ष विदेशी लगानी कम भित्रिनुमा कोभिड संक्रमण पछाडिको अवस्था, अन्तर्राष्ट्रिय बजारमा ब्याजदर उच्च, रुस–युक्रेन युद्धलगायत विविध कारण विदेशी लगानी नभित्रिएको सरोकारवालहरूको भनाइ छ । त्यसबेला नेपालभित्रकै आर्थिक अवस्था पनि स्थिर नरहेको उनीहरू बताउँछन् । ‘त्यस्तो अवस्थामा पनि १० लाख पर्यटक भित्रिए, त्यसैले ऊर्जा, पर्यटन तथा सूचना प्रविधिमा एफडीआईको मुख्य सम्भावना छ,’ उनले भने, ‘यी क्षेत्रको उपयोग गरी लगानीयोग्य वातावरण बनाउनु आवश्यक छ ।’

अघिल्लो आर्थिक वर्षदेखि नै प्रत्यक्ष विदेशी लगानी कम भित्रिन थालेपछि सरकारले लचिलो नीति लिएको छ । गत आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड कायम गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत रूपमा सीमा तोकिने जनाइएको छ ।

सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने बजेटमा उल्लेख छ । तर, कार्यान्वयनमा नआइसकेको विभागले जनाएको छ ।

नेपालमा आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ । अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८/७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीमा रहेका कम्पनीले लाभांशबापत नेपालबाट १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगेका छन् । सोही आर्थिक वर्षमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । उक्त वर्ष ५४ अर्ब १५ करोड ८९ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो । प्रतिबद्धताको तुलनामा ३४.३ प्रतिशत मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको हो । आर्थिक वर्ष ०७७/७८ मा लाभांशबापत २६ अर्ब ७ करोड ६० लाख र आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । मुलुकमा हालसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । कान्तिपुरबाट