राजनीति

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति



धनगढी, ६ वैशाख । एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ ।

समाजवादीको बुधबारको सचिवालय बैठकले प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको छ । तर, एमालेले उनलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने र अर्को पठाउनुपर्ने अडान लिएको छ । यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व नागरिक उन्मुक्ति र समाजवादीले आलोपालो गर्ने भन्ने थियो । तर, पहिला उन्मुक्तिले नेतृत्व गर्ने निर्णयमा असहमति जनाउँदै समाजवादीले सत्ता गठबन्धनविरुद्ध गएपछि हलचल भएको थियो । समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

यसले केन्द्रीय गठबन्धनमै असर पर्ने भएपछि गठबन्धनका शीर्ष नेताहरू सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएका थिए । समझदारीपछि मंगलबार समाजवादीले चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । उन्मुक्तिका चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा समर्थन गरेको भन्दै एमाले असन्तुष्ट बनेको हो ।