अर्थ

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण छ : मन्त्री पुन



वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा ‘एसियामा नवीकरणीय ऊर्जा सङ्क्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै उनले नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको बताए ।

उनले भने,  ‘नेपालले जलविद्युत क्षेत्रमा गरेको उन्नति क्षेत्रीय स्तरमा नवीकरणीय ऊर्जा प्रवर्द्धन र विस्तारमा महत्त्वपूर्ण हुनेछ’, ‘किनभने उत्पादित बिजुली नेपालमा मात्र नभई भारत र बङ्गलादेशजस्ता ऊर्जाको माग बढी भएका छिमेकी मुलुकमा पनि उपयोग हुनेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले केही महिनाअघि सम्पन्न भारत भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो । यस्तै नेपाल र बङ्गलादेशबिच ४० मेगावाटको विद्युत् व्यापार सम्झौता भएको उनले बताए । जसका कारण पनि दक्षिण एसिया क्षेत्रका लागि स्वच्छ महत्त्वपूर्ण हरित ऊर्जाको स्रोत नेपाल रहेको उनको भनाइ थियो ।