Banner News

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा



काठमाडौँ, ७ वैशाख । कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ । 

स्वयंसेवी संस्था स्काउटसँग ३ रोपनी जग्गा भाडामा लिई आसपासमा थप ९ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले हडपेका थिए । उनी सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएका थिए । ३ रोपनी जग्गाको भाडा सम्झौता ५ वर्षअघि नै सकिए पनि उनले स्काउटलाई फिर्ता गरेका थिएनन् । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि अटेर गरी कब्जामै राखेका थिए ।

सांसद खड्काले भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ स्काउटलाई भुक्तानी गर्न लामो समयदेखि अटेर गरिरहेका थिए । अर्कोतर्फ व्यापारिक संस्थालाई दिएर भाडा भने असुलिरहेका थिए । भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्यांकेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका थिए । ब्यांकेट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखेका छन् । उनले स्काउटकै जग्गामा पार्टीको झन्डासहित आफ्नो सम्पर्क कार्यालयसमेत खोलेका थिए ।