राजनीति

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक



काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको छ ।

बैठकले महाधिवेशनलाई केन्द्रित गरी वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक वैशाख २७ गते तथा २८ र २९ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने तय भएको छ । जेठ ९ गतेसम्म सबै कमिटीहरूमा महाधिवेशनका लागि प्रस्तुत मस्यौदा दस्तावेज पठाइसक्ने निर्णय पनि भएको छ । जेठ १० गते देखि जेठ ३२ गतेसम्म मस्यौदा दस्तावेजहरूमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी संठित सदस्यहरूलाई सहभागी गराई छलफल आयोजना गर्नेछन् ।

असार १ गते सबै क्षेत्रमा प्रतिनिधि छनोट गर्ने र असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण र निर्धारित शुल्कसहित पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।