राजनीति

कांग्रेस आरोप: सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक



काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा संविधानसम्मत गरिएको दाबीलाई प्रदेश प्रमुख मियाँले खारेज गरी बदनियत ढंगले सरकार गठन गर्न फेरि आह्वान गर्नु असंवैधानिक कदम भएको कांग्रेसको भनाइ छ ।  

प्रवक्ता प्रकाशशरण महतले संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको बताए । यस्तै संविधानमा प्रदेश प्रमुखले कुनै पार्टी विशेषको निर्देशनको पालना गर्ने कल्पना पनि नगरिएको उनको भनाइ छ । संविधानको सीमामा बस्नुपर्ने प्रदेश प्रमुखको राजनीतिक प्रेरित रवैया आपत्तिजनक रहेको उनले बताए ।

मुख्यमन्त्रीका लागि दाबी पेश भइसकेपनि हस्ताक्षर फिर्ताको प्रपञ्च रचिनुले संघीय पद्धतिप्रति एकखालको निराशा पैदा भएको उनको जिकिर छ । यो विषयलाई कांग्रेसलाई राजनीतिक र कानुनी रुपमा विरोध गर्ने स्पष्ट पारे ।