राजनीति

जनकल्याणका लागि महावीरको मार्गदर्शन पालना गरौँ : राष्ट्रपति पौडेल



काठमाडौँ, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् । 

जैन धर्मका प्रवर्तक महावीरको २६२३ औँ जन्मजयन्ती आज जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले जनकल्याणको लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् । 

‘महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु’ राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सबै नेपालीहरूबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै  सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास समेत पौडेलको छ ।