Banner News

एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने



काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्वपार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।  

हिजो र आज ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरूले सहमति जनाएका हुन् । 

प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागिएको बताए ।

उनले भने, ‘हामीले महत्त्वपूर्ण ढंगले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुराउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका त्यस्ता व्यक्तिहरूलाई सम्मान हाम्रो घोषित योजना थियो । त्यही योजनाको आधारमा हामीले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्त्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउ ।’