राजनीति

कतारका अमिर आज आउँदै



काठमाडौँ, ११ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई मुलुक बीचमा विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।

राईका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य गर्ने विषयमा समझदारी हुनेछ । साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने राईले बताए । नेपाल र कतारबीच हुने भनिएको श्रम सम्झौता भने यस पटक नहुने भएको छ ।

नेपालले कतारी राजालाई दुईवटा हात्ती उपहार दिने भएको छ । ‘कन्जर्भेसन’ कूटनीतिलाई जोड दिँदै नेपालले ती हात्ती उपहार दिन लागेको एक वन तथा वातावरण मन्त्रालयका अधिकारीले जनाए । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले नेपाल सरकारले प्रदान गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए ।

नेपालले विपिन जोशी रिहाइको विषय उठाउने नेपालले कतारी राजासमक्ष प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने भएको छ ।