राजनीति

उपप्रधानमन्त्री श्रेष्ठलाई शान्ति सन्देश हस्तान्तरण



काठमाडौँ, ११ वैशाख । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजित लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

चैत ९ र १० मा लुम्बिनीमा आयोजित सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साललगायत नेपालमा कार्यरत सबै अवैतनिक वाणिज्यदूतले हस्ताक्षर गरेका छन् । लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्री श्रेष्ठलाई आइतबार हस्तान्तरण गरेका हुन् ।

एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयको समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आह्वान गरेको छ । मानवीय शान्ति, विकास तथा सामूहिकताका लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको निष्कर्ष छ ।