काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।
आज नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।’ आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने भन्दै उनले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।
लगानी सम्मेलनलाई सफल पार्न सबैले सकारात्मक भावमा काम गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्