अर्थ

अर्थमन्त्री पुनले लिए बजेटबारे पूर्वअर्थमन्त्रीसँग सुझाव



काठमाडौँ, १३ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, डा युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्व अर्थमन्त्रीहरुले महत्त्वाकाङ्क्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यस्तै उनीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् ।

बजेटको आकार अनावश्यक ठुलो बनाउने प्रवृत्तिले कार्यान्वयन नै नहुने समस्या रोगका रुपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । दायित्व जति सङ्घीय सरकारमा राखेर श्रोत जति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औँल्याउँदै त्यसो नगर्न सुझाव दिए  । देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने स्पष्ट गरे ।