राजनीति

राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन



काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् ।

आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । 

नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।  जलविद्युत परियोजना विकासको लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने विश्वास व्यक्त गरे ।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गरे ।