राजनीति

अग्निपीडितलाई राहत र पुनर्निर्माणमा प्राथमिकता



महोत्तरी, १४ वैशाख । मटिहानी–६, जरहलवागाछी बस्तीमा बुधबार दिउँसो भएको आगलागीले ११० घर खरानी बनाएको छ । स्थानीयका गरगहना, लुगाफाटा, नगद, अन्नपात, कागजपत्रसमेत आगोले जलाएको छ । स्थानीयलाई आगलागीमा धनमाल गुमाउनुको पीडा छँदै छ, कहाँ बस्ने, के खाने, के लगाउने चिन्ता पनि सुरु भइसकेको छ ।

आगलागीमा घर गुमाएकाहरू सबै कमजोर आर्थिक अवस्थाका छन् । अग्निपीडितका लागि तीनै थरी आधारभूत आवश्यकता ‘गाँस, बास र कपास’ बन्दोबस्त गर्न सरकारी निकाय र सामाजिक संघसंस्थाले सक्रिय अग्रसरता देखाउनुपर्ने बेला आएको छ ।

परालको कुन्युँमा सल्किएको आगो तत्काल नियन्त्रण गर्न नसक्दा जरहलवागाछीका बासिन्दाले जीवनभर नंग्रा खियाएर जोडेको सम्पत्ति खरानी बनेको हो । दिउँसो १२ बजेतिर सल्किएको आगो झन्डै सात घण्टाको प्रयासमा मात्र नियन्त्रणमा आएको थियो । आगलागीमा पशुचौपायासमेत मरेका छन् । त्यहाँका अधिकांश परिवारसँग आआफ्नो ज्यान मात्र बाँकी छ । पीडितलाई यस्तै बेला चाहिने हो राज्यको अभिभावकत्व ।

त्यसैले सरकारी निकायले तत्कालका लागि उनीहरूको भरपर्दो अस्थायी बसोबास प्रबन्ध मिलाइदिनुपर्छ । दैनिक उपभोग्य वस्तु, भाँडाकुँडा, लत्ताकपडामा कुनै कमी हुन दिनु हुँदैन । बर्खायाम नजिकिँदै छ । त्यतिबेला पीडितको जनजीवन कष्टप्रद नहोस् भनेर स्थायी आवास पुनर्निर्माण पनि बेलैमा अघि बढाउने वातावरण तयार गरिदिनुपर्छ । विपन्न, त्यसमाथि भएको अलि–अलि भौतिक सम्पत्ति पनि खरानी बनेको अवस्थामा आवास पुनर्निर्माणमा सरकारले सहयोग गर्नुपर्छ । त्यसका लागि सरकारले निश्चित हिस्सा अनुदान र बाँकी सहुलियत ऋणको व्यवस्था गरिदिनुपर्छ ।

जरहलवागाछीकै तहमा बिचल्ली परिवार संख्या नभए पनि यो वर्ष आगलागीले मुलुकका विभिन्न ठाउँमा जनधन क्षति गरिरहेको छ । वैशाख लागेयता मात्र आगलागी र वन डढेलोका घटना पाँच सयभन्दा बढी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यस बीचमा आगलागीबाट सात र डढेलोबाट एक जनाको मृत्यु भएको छ, ३४ जना घाइते छन् । प्रभावित परिवार संख्या आठ सय नाघेको छ ।

२० करोड रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भइसकेको प्राधिकरणको विवरण छ । यो पटक हिउँद १८ वर्षयताकै सुक्खा थियो । चैत लागेसँगै आगलागी र वन डढेलोका घटना बढ्न थालेका थिए । बीचमा बेलाबेला वर्षा हुँदा आगलागी र वन डढेलो मत्थर भएको थियो । केही सातादेखि भने आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । दुईतिहाइ जिल्लाका विभिन्न वनमा डढेलो लागेको छ । हावाहुरीले डढेलो फैलाइरहेको छ । कतिपय ठाउँमा वनमा लागेको आगो फैलिएर घर सल्काएको छ । आगलागी र वन डढेलोबाट थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउनुपर्ने भएको छ ।

सरकारले मुलुकभरकै अग्निपीडितलाई बेलैमा राहत व्यवस्था गरिदिनुपर्छ, आवास पुनर्निर्माणमा सहयोग गर्नुपर्छ । घाइतेको उपचारमा तदारुकता देखाउनुपर्छ । आगोले जलाएको व्यक्तिको उपचार एकदमै संवेदनशील हुन्छ । आगलागीमा जजसको नागरिकता, शैक्षिक प्रमाणपत्र जस्ता कागजपत्र जलेका छन्, तिनको अर्को प्रति लिने प्रक्रिया सरल बनाइनुपर्छ ।

आगलागीका अधिकांश घटना मानवीय त्रुटिका कारण हुन्छन् । सामान्यतया काम सकिसकेपछि आगो ननिभाउँदा, ग्यास सिलिन्डर तथा चुल्होको हेरविचार राम्रो नगर्दा, टुकी वा मैनबत्ती ठीक ठाउँमा नराख्दा तथा विद्युत् सर्ट भएर आगो फैलने गर्छ । चुरोटका ठुटा र सल्काएको सलाईको काँटी जथाभाबी फ्याँक्दा पनि आगो सल्किन्छ । कहिलेकाहीँ चट्याङका कारण पनि आगलागी हुन सक्छ ।

मानवीय त्रुटिले आगलागी हुन नदिन जनचेतना फैलाउन जरुरी छ । आगलागी भइहाले तत्काल नियन्त्रण गर्न पालिकाहरूले दमकल तम्तयार राख्नुपर्छ । यस्तो दमकल सडक यातायातको पहुँच भएको क्षेत्रका लागि हो । अन्यत्र भने आगो लागिहाले नियन्त्रणका लागि स्थानीय बासिन्दा नै जुट्नुपर्छ । त्यस्तो ठाउँमा आगलागी नियन्त्रण प्रभावकारी बनाउन पालिका वा सामाजिक संघसंस्थाले स्वयंसेवी समूह तयार गरेर राख्नुपर्छ । डढेलो/आगलागी नियन्त्रण जोखिमपूर्ण हुन्छ । गत चैत अन्तिम साता मात्र डोल्पाको ठूलीभेरीस्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको मृत्यु भएको थियो । यस्ता घटना दोहोरिन नदिन अत्यन्तै होसियारी अपनाउन जरुरी छ । कान्तिपुरबाट