Banner News

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै



काठमाडौँ, १५ वैशाख । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज मतदान हुँदैछ ।

इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ ।

त्यस्तै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो ।  नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाएको छ ।  उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।  बिहान ७ देखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने छन् । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।