Banner News

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : अध्यक्ष ओली



रसुवा, २३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा जोड दिएका छन् ।

नेकपा (एमाले) रसुवा जिल्लाको नवौँ अधिवेशनको शनिबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताए । समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गरे ।

अध्यक्ष ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमूनाका रूपमा आफूले सुरूगराएको सिस्नेखोला  दहचोक काठमाडौँ सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गरे ।