राजनीति

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने



पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते नै विश्वासको मत लिने भएका छन् ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्रीले आज विश्वासको मत लिने जानकारी दिए । गण्डकीमा बहुमतका लागि ३० सिट वा ३१ सिट भन्ने लफडा छ । सभामुखको गणना दाबीको समयमा नगनेपनि संसदमा ३१ सिटले मात्रै बहुमत हुने केही कानूनविद्हरुको तर्क छ ।  गठबन्धन दलहरु भने सर्वोच्चले ३० लाई बहुमत मानेकाले सोही अनुसार संसद् फेस गर्ने बताइरहेका छन् । सभामुखले ३० सिटलाई नै बहुमत घोषणा गर्ने तयारी भइरहेको छ ।

संविधान अनुसार अधिकारीले वैशाख २४  गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था छ । उनी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । हाल गण्डकीको मन्त्रीपरिषद् ३ सदस्यीय छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिएका थिए । अहिले चुमान अर्थमन्त्री बनेका छन् भने मनाङेले भौतिकको जिम्मेवारी पाएका छन् ।