राजनीति

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी



धनगढी, २३ वैशाख । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गरेका हुन् ।

आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर शनिबार पनि एमालेले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

नेता रावलले छलफल नभएको दाबी गरे पनि एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल उपस्थित सत्ता गठबन्धनको वैशाख १८ को बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । यही वैशाख ६ मा नियुक्त भएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन अझै दुई साताको समय छ । तर, पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आइतबार भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने तयारी उनले गरेका थिए । तर एमालेको असहयोगपछि उनको प्रयास विफल भएको छ ।

मुख्यमन्त्रीलाई समर्थन गरेका माओवादी सांसद ओमविक्रम भाट पनि ओली र नेपालको व्यक्तिगत इगोकै कारणले पछिल्लो परिस्थिति उत्पन्न भएको दाबी गर्छन् । सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदको समर्थन थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ ।