मनोरञ्जन

प्रधानमन्त्री प्रचण्ड र फिल्ममेकरबीच भेटवार्ता  



काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फिल्ममेकरको टिमबीच भेटवार्ता भएको छ ।

निर्माण तयारीमा रहेको फिल्म ‘जेलब्रेक’को सन्दर्भलाई लिएर बालुवाटार पुगेका फिल्ममेकरको टिमसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओवादी सशस्त्र युद्धबारे गहिरो ढंगमा फिल्म बन्नुपर्ने बताएका छन् । ।

प्रधानमन्त्रीलाई भेट्न फिल्म निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, नेकपा (विप्लव समूह)की नेतृ उमा भुजेल र फिल्म लेखक विकास सुवेदी बालुवाटार पुगेका थिए । भेटमा दशक लामो सशस्त्र द्वन्द्वको घटनामाथि फिल्म बनाउन अनुसन्धान लेखनको काम चलिरहेकाले पार्टी अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न आफूहरु त्यहाँ पुगेको सुवेदीले बताए ।

तत्कालीन माओवादी लडाकु समेत रहेकी उमा भुजेलले गोर्खा जेल ब्रेकको घटनाबारे लेखेको पुस्तकमाथि फिल्म बन्न लागेको हो । फिल्मलाई देउजाले निर्देशन गर्दैछन् । फिल्मको लेखन सकिएपछि कलाकार छनौट हुनेछ । फिल्ममा नयाँ तथा पुराना कलाकार रहने बताइन्छ ।