Banner News

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक



काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहने बताएका छन् ।

आज नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अस्थिरताबाट मुलुक जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति ठूला राजनीतिक दलहरूबीच सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका हुन् ।

उनले भने, “नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ,” “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्तासहकार्य गर्ने विषयमा ठोस छलफल नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

सरकार सञ्चालनका निम्ति नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि ठूला दलहरूबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकले बताए ।