राजनीति

सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : महासचिव पोखरेल



ताप्लेजुङ, २५ वैशाख । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरू भइरहेको बताएका छन् ।

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ । मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ । जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो । लोकतन्त्रमा दलहरूभित्र कुनै समस्या भयो भने विधिसम्मत डङ्गबाटै अघि बढ्नुपर्छ । त्यस कारण अहिले जे भयो, त्यो कानूनीरुपमा प्राप्त अधिकारको उपयोग गरेर गरिएको कार्य हो ।’