राजनीति

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ : मन्त्री भण्डारी 



काठमाडौँ, २५ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा बोल्दै मन्त्री भण्डारीले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताए । “स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न हामी तयार छौँ । बजेजमा उद्योग क्षेत्रमा के गर्न सकिन्छ भनेर हामी अर्थमन्त्रीसँग छलफल गर्नेछौँ,” उनले भने, “स्वदेशी सामान गरिद गर्न परिसंघले आग्रह गर्दै आएको छ । त्यसमा सरकार सकारात्मक छ ।”

जीडीपीमा उद्योगको योगदान बढाउन सरकार तयार रहेको पनि मन्त्री भण्डारीले बताए । “उद्योग क्षेत्रको योगदान जीडीपीमा घट्दै गएको छ,” उनले भने, “जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन ठूलो परिवर्तन आवश्यक छ । यसमा सरकारले आवश्यक सहजीकरण गर्नेछ ।” अहिलेका रूग्न उद्योग सरकारले चलाउने हो वा के गर्ने भनेर बहस आवश्यक रहेको उनले बताए । सरकारले उद्योगलाई सहजीकरण गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । अहिले कानुन उद्योगमैत्री बन्दै गएको बताए ।